काठमाडौं, १३ भदौ ।
ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापासहितको टोलीले आज सडक विभागको कार्यालयमा धर्ना दिएका छन् ।
कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सनलगायतका निर्माण कम्पनीले काम नगरेको भन्दै सांसदसहितको टोलीले ललितपुरको चाकुपाथस्थित विभागको कार्यालयमा धर्ना दिएका हुन् ।
चावहिल कपनलगायत काठमाडौं क्षेत्र नं ४ का सडकको निर्माण सम्पन्न गर्नुपर्ने म्याद गत वैशाखमै सकिएको छ । सडकको काम २० प्रतिशत भन्दा कम मात्रै हुँदा पनि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गर्न लागेको विरोधमा उनीहरु धर्ना बसेका हुन् ।
सांसद थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदा सम्म धर्ना गर्ने चेतावनी दिएका छन् । सांसद गगन थापाले आफूहरुको अनुरोधलाई बेवास्ता गरेको सडक बिभाग र मन्त्रालयको विरुद्ध सडक संघर्षलाई सिंहदरबारभित्र लाने चेतावनी दिए ।
काठमाडौँ क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन् । अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ । शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसदको विकास समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ ।