२४ साउन, काठमाडौं । धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् ।
सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको धादिङमा कार्यरत नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले पुष्टि गरे । एसपी बैदवारका अनुसार, मृतकको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।
करिब ३८ यात्रु सवार बस सडकबाट अन्दाजी २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । एसपी बैदवारले दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइहेको बताएका छन् ।
बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । अफ्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।