एस्पी लिम्बू/ २३ श्रावण, ताप्लेजुङ ।
नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङका पूर्व जनपरिषद प्रमुख तथा नेता बिजय फेम्बू मंगलबार फक्ताङ्लुङ गाउँपालिका ५ नम्बर वडा, हेल्लोक स्थित आफ्नो घरबाट गिरफ्तार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट आएको बिशेष टोलीले उनलाई गिरफ्तार गरेको परिवारले जनाएको छ । मंगलबार आफ्नो घरमा पारिवारिक भेटघाटको क्रममा घरमा बसिरहेको अबस्थामा आधा दर्जन हतियारसहित आएको प्रहरीको टोलीले गिरफ्तार गरेको फेम्बूकी दिदि सुनिता फेम्बूले बताइन् । आफ्नो भाईको राजनीति गर्ने स्वतन्त्रता भए पनि राज्यले राजनीतिक प्रतिसोध साँधेर गिरफ्तार गरेको गुनासो पोखिन् ।
‘राजनीतिक स्वतन्त्रता हो, राजनीति गर्न पाउनुपर्छ ।’ सुनिताले भनिन् । उनले आफ्नो भाई पक्राउ गर्नुको कारण प्रहरीले नभनेको बताइन् । परिवारसँग कुराकानी गर्न सहज रुपमा नदिएको पनि गुनासो गरिन् । गिरफ्तार गरिएका फेम्बू नेपाल कम्युनिस्ट पार्टी, जिल्ला पूर्व जनपरिषद प्रमुख तथा जिल्ला सचिबालय सदस्य समेत हुन् ।
फेम्बूलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हिरासतमा राखिएको छ । प्रहरीले भने फेम्बू पक्राउ परेको बारे केहि खुलाएको छैन । फेम्बुलाई बुधबार जिल्ला प्रहरी कार्यालय पुर्याएको छ ।