राजविराज, २१ साउन । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की १९ वर्षीया गर्भवती रञ्जुदेवी यादवको हत्या आरोपमा सासू–ससुरा पक्राउ परेका छन् ।
सप्तरी प्रहरीले मंगलबार रञ्जुदेवीकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरेको हाे ।
रञ्जुको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । दुई साताको अनुसन्धानपछि आरोपितलाई पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । रञ्जुका पति दिनेश यादव बजार गएका बेला राति साढे आठबजे घटना भएको थियो ।
रञ्जुलाइ गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा साउन ५ गते राति ल्याउनु अगावै निधन भइसकेकाे थियाे । सप्तरी प्रहरीका अनुसार रञ्जुको शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ७ गते पोष्टमार्टम भएको छ । तीन महिनाकी गर्भवती रहेकी मृतकको १० महिनाकी छोरी छन् ।