काठमाडौं, २१ साउन । राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ।
समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको समितिका सभापति रामनारायण बिडारीले बताए ।
दस्तावेज खाेजीकै क्रममा समितिले सरकारलाई सो दस्तावेज कहाँ छ? भनेर विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन।
मंगलबार समितिको बैठकमा उपस्थिति भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दस्तावेज पूर्वराजा ज्ञानेन्द्र शाहसँगै गयो की भनि आशंका गर्दै ती सबै दस्तावेज सरकार कहाँ आए/नआएको एकीन नभएको जवाफ दिए।
‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्तावेज दरबारमा केन्द्रित थिए,’ मन्त्री ज्ञवालीले भने ‘ती सबै यता आएकी आएनन् एकीनका साथ भन्न सकिने अवस्था छैन, जे–जे दस्तावेज थिए भन्ने हामीलाई सूचना छ। तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ। सबै हस्तान्तरण नभएको बुझेका छौं, पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो की?’
नारायणहिटी दरबारमा महत्वपूर्ण दस्तावेज त्यहीँ बाँकी छ वा कुनै ढंगले नष्ट भयो? त्यसको बारेमा एकीन ढंगले भन्न सकिने अवस्था छैन, मन्त्री ज्ञवालीले भने । बैठकमा समितिका सभापति बिडारीले सुगौली सन्धियताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तर्राष्ट्रिय सन्धिसम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिए पनि जवाफ नआएको बताए।
समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्तावेज कहाँ छन भनि मन्त्री ज्ञवालीलाई प्रश्न गरेका थिए।