झापा, २० साउन ।
नेपाल कम्युनिस्ट पार्टीको दमक नगर सेक्रेटरी सुवास राई र युवा सङ्गठनका सदस्य पुकार लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।
दमक बेलडाँगीबाट उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । नेकपाका झापा सेक्रेटरी मनीषले सोमबार विज्ञप्ति जारी गर्दै गिरफ्तार परेका राई र लामालाई पार्टी कामको सिलसिलामा हिँडिरहेको अवस्थामा दमक बेलडाँगीबाट अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
वर्तमान सरकारले आफैँले बनाएको कानुन उल्लङ्घन गर्दै जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार र राजनीतिक आस्था राख्न पाउने नैसर्गिक अधिकारसमेतलाई लत्याएको भन्दै सेक्रेटरी मनिषले कथित वामपन्थी भनिएको दलाल सत्ताले शृङ्खलाबद्ध रूपमा गरेको दमन, हत्या र श्वेतआतङ्क बन्द गर्न चेतावनी समेत दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सहनशीलतालाई कमजोरी ठान्दै पक्राउ परेका हाम्रा नेता–कार्यकर्तालाई तत्काल रिहा नगरे दलाल सत्ताको मतियार बनेर जनता, क्रान्ति र परिवर्तनकाविरुद्ध उत्रने, सुराकीगर्ने मतियार एवम् फासिवादी सत्ताका दलाल एजेन्टहरूलाई गिरफ्तार गरेर जनकारबाही गर्नसमेत हामी पछिनपर्ने कुरा यसै विज्ञप्तिमार्फत अवगत गराउन चाहन्छौँ ।’