बाग्लुङ, साउन २० । बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरे तालको केही भाग फुटेको छ ।अविरल वर्षापछि सोमबार बिहान बडीगाड खोलामा पानीको सतह बढेसँगै ताल फुटेकेा हाे ।
तालमा रहेको पानीको सतह करीब १० मिटर घटेको छ । तुरतुरे ताल फुटेर बडीगाड खोलामा पानीको सतह एक्कासी बढेपछि तलका तटीय क्षेत्रमा रहेका भिङगाड, भिङखाल, खार, खर्वाङ बजार र गुल्मीको रिडी क्षेत्रसम्मका स्थानीयबासी त्रसित बनेका छन् ।
स्थानीय प्रशासनले तालको पानी घट्न रोकिएकोले आत्तिनु पर्ने अवस्था नरहेको बताईए पनि सबै तटीय क्षेत्रमा सावधानी अपनाउनु पर्ने अवस्था रहेको जनाएको छ । अहिलेसम्म खोलाको बहावले कतै कुनै क्षति गरेको नगरेकोले आत्तिनु पर्ने अवस्था नरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मध्यपहाडी लोकमार्गमा पर्ने खार बजारको माथिपट्टी भल सहितको पहिरोले सडक अवरूद्ध भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक समुद्र नेपालको कमाण्डमा प्रहरी टोली खटिएको छ ।