काठमाडौं, १८ साउन । प्रधानमन्त्री सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिंगापुर जाँदै हुनुहुन्छ ।
एक सातासम्म सिंगापुरमा बसेर उहाँले सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, डा. दिब्यासिंह शाह, स्वकीय सचिव रमेश बज्राचार्यलगायत सिंगापुर जानुहुनेछ ।
प्रधानमन्त्री ओलीको शरीरमा चिनीको मात्रा तलमाथि भएको पाइएको छ । नियमित औषधि सेवनसँगै अनिदो बस्न नहुने, न्यूनतम् सात घण्टा सुत्नुपर्ने र धपेडीबाट बच्न चिकित्सकले सुझाव दिँदै आएका छन् ।
तर, प्रधानमन्त्री ओलीले धपेडी बढी गरेपछि उहाँको स्वास्थ्यमा समस्या देखिँदै आएको छ । प्रधानमन्त्री ओलीले मृर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेको छ ।
त्यसमा समेत केही जटिलता देखा परेकाले उनी उपचारका लागि जान लाग्नुभएको बताइएको छ । यसअघि पनि उहाँ दिल्ली र थाइल्यान्ड पुगेर उपचार गराउँदै आएका थिए ।