काठमाडौं , १६ साउन । देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा हमला भएको छ । हमलामा मेची–कोशीका ३ जिल्लामा एनसेलका ३ वटा टावर ध्वस्त भएका छन् । पाँचथर जिल्लास्थित थर्पुको एक टावर, मोरङ्ग जिल्लाको पथरी नगरपालिका वार्ड नम्बर १० स्थित एक टावर र झापा जिल्लाको बुद्धशान्ति नगरपालिकास्थित कालिस्थान भन्ने स्थानमा एक टावर गरेर ३ वटा टावर ध्वस्त भएका छन् ।
त्यसैगरी ललितपुर जिल्लाको कोनजोसोम गाउँपालिका संखुमा पनि एनसेल टावरमाथि गएराती ११ बजे आगजनी भएको छ । सल्यानमा पनि एनसेल टावरमा आगजनी भएको छ । पुर्वि नवलपरासीको कावासोती १० मगरकोटमा रहेको एनसेलको टावर पनि अज्ञात समुहले आगजनी गरेका छन् । आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । टावरमा लागेको स्थानिय र प्रहरीको पहलमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगजनी गर्नेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यसैगरी कैलाली जिल्लामा पनि एनसेलको टावरमा आगजनी भएको त्यहास्थित हाम्रा सम्बाददाताले जनाएका छन् । धनगढी उप–महानगरपालिकामा १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकीमा २ एनसेलका टावर ध्वस्त भएको छ । डडेल्धुराको महाभात हगुल्टेलेकको काफली टावर र गोगनपानी सुदुरपश्चिमको मुल टावरलाई समेत ध्वस्त भएको छ । डोेटीको शैली शिखरको कफलेखि टावर, अछाममा बिनायक तुर्माखाँदमा गरि दुईवटा टावर ध्वस्त भएका छन् ।
बाजुराको बुढीगंगाको बार्जुकोटमा रहेको टावर, बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा टावर ध्वस्त भएका छन् । त्यस्तै बैतडीको दोगाडाको सित्तड र पुर्चाैडिको कुडिमा गरी दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त भएको छ । राज्यलाई अरबौं कर नतिरेरै आफ्नो ब्यवसाय संचालन गरिरहेको एनसेलमाथि ब्यापक जनदबाब रहेको छ । बिगतदेखि नै नेपाल कम्युनिस्ट पार्टीले एनसेलले कर तिर्नु पर्ने माग राख्दै एनसेललाई चेतावनी स्वरुप कारबाही गर्दै आइरहेको छ ।
नागरिक अगुवाहरुले पनि एनसेलले कर तिर्नु पर्ने दबाब दिइराखेका छन् । त्यस्तै नेकपाका युवा नेताहरु, बिद्यार्थीहरुले नो ट्याक्स नो एनसेल अभियान पनि संचालन गरिरहेका छन् । सरकारले एनसेलसँग कर लिन सक्ने आफ्नो क्षमता नदेखाइरहँदा दबाब स्वरुप पुनः यो कारबाही हुनुले नेकपाले गरेको हुन सक्ने अनुमान गरिएको छ ।
उता, नवलपुरको कावासोती १० मगरकोटमा रहेको एनसेलको टावरमा गए राति अज्ञात समुहले आगजनी गरेको छ । आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । टावरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।
यस्तै म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको बन्चरेढुङ्गामा रहेको एनसेलको टावरमा पनि बुधवार राती अज्ञात समूहले आक्रमण गरी क्षति पुर्याएको छ । राती साढे १० बजे टावरमा वम विस्फोटको आवाजसंगै आगलागी भएको टावरका हेरालु (कर्मचारी) हरिलाल घिमिरेले जानकारी दिए ।घिमिरेका अनुसार टावर रहेको ठाउँमा राखिएको जेनेरेटर, व्याटिवक्स लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । टावरमा क्षति पुगेपछि बुधवार राती देखिनै एनसेलको सेवा अवरुद्ध भएको छ । घटनाको जिम्मेवारी कसैले पनि नलिएको बताइएको छ ।