काठमाडौं, १५ साउन ।
मेलम्ची नगरपालिको वडा नम्वर १० को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेका छन् । वडा कार्यालयको ताल्चा काटेर भित्र रहेका कागजातहरु जम्मा गरि आगजनी गरिएको वडाध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिनुभयो ।
मंगलवार कार्यालयको काम सकेर ताला लगाएर आफू घर गएको तर एकाविहानै स्थानीयवासीहरुले आगजनी भएको खवर सुनाए पछि हेर्न आउँदा वडा कार्यालय जलेर ध्वस्त भएको पाइएको उहाँले बताउनु भयो ।
आगजनीका कारण वडा कार्यालयभित्र रहेका सम्पुर्ण कागजातहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
घटनाको प्रकृति हेर्दा स्थानीयहरुले नै अन्य कुनै कारण वा रिसिबी साँध्न कार्यलयको कागजपत्रमा आगो लगाएको हुनसक्ने सम्भावना रहेको दर्नालले बताउनु भयो ।
ताला काटेर आगो लगाउनु र कम्पुटर र दराजभित्र भएका कागजहरुलाई भँुईमा जम्मा गरेर आगो लगाउनु आफैँमा रहस्यमय भएको उहाँले बताउनु भयो । विप्लव नेतृत्वको नेकपाले आगो लगाएको हल्ला चलाईएको भएपनि घटनास्थलामा सो पार्टीको कुनै पनि पर्चाहरु नभेटिएको र घटनाको प्रकृति फरक भएकाले त्यस तर्फ शंका गर्न नसकिने दर्नालले बताउनु भयो ।
वडा कार्यालयको भवनमा भएको क्षतिको विवरण संकलन भइरहेकाले उहाँले बताउनु भयो ।
स्थानीयले पनि नेकपाका कार्यकर्ताले नभएर उक्त वडामा कुनै रिसिवी वा व्यक्तिगत इगोका कारण जलाइएको हुनसक्ने धारणा राखेका छन् ।