१४ साउन, काठमाडौं । सत्तारूढ नेकपा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका लागि मंगलबार दुबई प्रस्थान गरेका छन् । भ्रमण टोलीमा परिवारका ७ सदस्यहरु सहभागी छन् ।
स्रोतका अनुसार बिरामी अवस्थामा रहेकी प्रचण्डपत्नी सीता दाहालले दुबई शहर हेर्ने इच्छा गरेपछि प्रचण्ड पारिवारी भ्रमणका लागि दुबै गएका हुन् । साउन १८ गते फर्कने गरी मंगलबार युएईतर्फ लागेको टोलीमा अध्यक्ष प्रचण्ड र सीता दाहालका साथमा दुई छोरी र तीनजना नाति-नातिना सहभागी छन् ।
पारिवारिक भ्रमण दलमा भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी छोरी रेनु दाहाल र सचिवालयमा कार्यरत कान्छी छोरी गंगा दाहालसमेत छन् । टोलीमा रेनु दाहालका छोरा, गंगाकी छोरी र स्व. प्रकाश दाहालका जेठा छोरा पनि छन् ।
यसअघि सीतालाई उपचारका लागि अमेरिका लगिएको थियो । त्यहाँ उपचार गर्दा पनि उनको अवस्थामा उल्लेखनीय सुधार आएको छैन । तथापि अहिलेको दुबई भ्रमण कुनै औषधोपचारका लागि नभएर ‘रिफ्रेसमेन्ट’ का लागि मात्र भएको स्रोतले बतायो ।
नेकपा अध्यक्ष प्रचण्डले पछिल्लो समय विरामी श्रीमतीको इच्छा पूरा गर्दै आएका छन् । यसअघि विवाहको ५० औं वर्षगाँठ मनाउँदा पनि प्रचण्डले पत्नीको खुशीका लागि आफूले विवाहोत्सव मनाएको बताएका थिए ।
यसपालि श्रीमती, छोरी र नाति नातिनाका साथमा दुबई जान तयार भए पनि प्रचण्डले त्यहाँ रहँदाका ४ दिन व्यक्तिगत रुपमा आराम गर्ने सोचाइ बनाएको उनी निकट स्रोतले बतायो ।