काठमाडौं, १४ साउन ।
पूर्व उपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरलाई लक्षित गरी गोली प्रहार भएको छ।
सोमबार साँझ सबा ७ बजे कलंकीमाई मन्दिर नजिकै रहेको पूर्वउपसचिव शर्माको घरलाई लक्षित गरेर गोली प्रहार भएको महानगरी प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।
गोली झ्याल फोडेर घरभित्रै छिरेपनि कसैलाई गोली नलागेको प्रहरीले जनाएको छ । गोली प्रहार भएको कोठामा शर्माकी छोरी पढिरहेकी थिइन्।
प्रहरीले अनुसन्धानका लागि शर्माका छिमेकी शोभाखर खनाललाई पक्राउ गरेको राठौरले बताए। खनालको घरबाट म्याग्नम बन्दुक, १२ बोरको अर्को बन्दुक र त्यसको सय राउन्ड गोली बरामद गरेको छ।
घटना हुँदा खनालको घरमा उनीसहित १०२ वर्षका बाबु र श्रीमती थिए भने शर्माको घरमा उनीसहित उनकी छोरी र श्रीमती थिए।
खनालको घरबाट बरामद भएको बन्दुकबाट गोली चलेनचलेको परीक्षण ल्याबमा परीक्षण गरी अनुसन्धान गर्ने राठौरले जनाएका छन् ।