धनुषा, साउन १३ ।
प्रदेश २ मा भीषण वर्षा र बाढीका कारण भएको क्षतिबारे जानकारी गराउँदै सहयोग जुटाउने उद्देश्यले काडमाडौ आएको मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सर्वदलीय टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग छलफल गरेको छ ।
मन्त्रालयमा भएका छलफलमा मुख्यमन्त्री राउतले बाढीबाट भएको क्षति भयावह रहेकोले तत्कालीन र दीर्घकालीन योजना बनाएर तटबन्ध मर्मत तथा निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । कटानका कारण नदीको पानी सोझै गाँउमा पसिरहेकोले त्यस्ता ठाँउहरुमा तत्काल मर्मतको काम गर्नु पर्ने उहाँले बताउनुभयो ।
मर्मत कार्यमा सहयोग गर्न संघीय मन्त्री पुनसँग आग्रह गर्दै उहाँले दीर्घकालीन रुपमा चुरे संरक्षण, चुरेमा भइरहेको अनियन्त्रित बसोवासको नियन्त्रण,नदीहरुमा पक्की तटबन्ध निर्माणसहितको योजना बनाउनु पर्ने बताउनुभयो ।
उहाँले दीर्घकालीन योजना अनुरुप कार्य नभए मधेश मरुभूमिमा परिणत हुने भएकाले संघीय मन्त्रालयलाई तत्काल यस विषयमा सोच्नु पर्ने आवश्यकता समेत औल्याउनुभयो ।
छलफल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आवश्यक रकम अर्थ मन्त्रालयसँग माग गरेर तत्काल गर्न सकिने कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको मुख्यमन्त्री राउतले बताउनु भएको छ ।