धनकुटा, १० साउन ।
लगातार परेको वर्षाका कारण शुक्रवार बिहान पहिरो जादाँ कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड अबरुद्ध भएको छ ।
पहिरोले धरान धनकुटा सडक खण्डको लावरबोटेमा करिब ५० मीटर सडक क्षति र्पुयाएपछि यातायात अवरुद्ध भएको छ ।
शुक्रबार बिहान साढे १० बजे उक्त स्थानमा पहिरो गएको हो । सडकमा ढुंगा र लेदो माटो थुप्रिएपछि बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।
पहिरो पन्छाउन एउटा डोजर र प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख एसपी सुदर्शनप्रसाद कोइरालाले जानकारी दिए । सवारी साधन नचलेपछि उक्त स्थानमा सयौं यात्रु अलपत्र परेका छन् ।
धनकुटा भएर संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका जिल्लातर्फ जाने सवारी साधन समेत ठप्प रहेको छ । पहिरो पन्छाउने कार्य भइरहेकोले साँझसम्ममा यातायात सञ्चालन हुनसक्ने जनाइएको छ ।
यसैगरी, बिहान धरान धनकुटा खण्डको गर्जुवा खोलामा आएको बाढिसँगैका लेदोका कारण चार घण्टा यातायात अवरुद्ध भएको थियो । उक्त स्थानको बाटो खुले लगत्तै पुनः लावरवोटेमा क्षति पुगेको छ ।