९ साउन, काठमाडौं ।
महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाट फरार तीन थुनुवामध्ये एक जना अझै फरार छन् । यसअघि २३ असारमा हिरासत कक्षभित्र रहेको शौचालयको ग्रिल काटेर चोरी र डकैती मुद्दाका रुपेश भनिने रुद्रलाल श्रेष्ठ, शम्शेर माझी र लागूऔषध मुद्दाका रविकुमार तिम्सिना फरार भएका थिए ।
दुई दिनपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले श्रेष्ठ र माझीलाई पक्राउ गरेपनि लागूऔषध मुद्दाका तिम्सिना अझै फरार छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी नारायण चिमोरियाका अनुसार हिरासतबाट भाग्नेविरुद्ध कारागार ऐनले थप सजायको व्यवस्था गरेको छ । फरार तिम्सिनाको खोजी भईरहेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार ललितपुर जिल्ला अदालतमा म्याद थप्नका लागि लाँदा श्रेष्ठले हतियार प्राप्त गरेका थिए । अदालतमा ब्लेड उपलब्ध गराएको आरोपमा प्रहरीले २५ वर्षीय पासाङ शेर्पा र २६ वर्षीय सुनिल मगरलाई पक्राउ गरेको छ । शेर्पा बैंकिङ कसूर सम्बन्धी मुद्दाका पुरानै आरोपित हुन् ।
म्याद थप्न जाँदा भेटिएका उनीहरुले शौचालयमा ‘ह्याक्सो ब्लेड’ राखिदिएको र त्यहीँबाट शरीरमा लुकाएर श्रेष्ठले हिरासतसम्म ब्लेड र्पुयाएको अनुसन्धान अधिकृत बताउँछन् ।