काठमाण्डौ, ९ साउन ।
प्रदेश सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका पहिरो प्रभावितहरुको लागि राहत पठाउने काम सुरु गरेको छ ।
प्रदेश १ सरकारको विपद् व्यवस्थापन समितिको बैठकले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ । लम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिका पुग्ने बाटो अविरल वर्षा र पहिरोको कारण अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले ती ठाउँमा चरम खाद्यान्न अभाव भएको थियो ।
पहिलो चरणमा दाल १८० किलो, चामल २ हजार १० किलो, तेल एक सय २० लिटर र नून १ सय ५० किलो नेपाली सेनाको हेलिकप्टरबाट पठाएको हो ।
चार पटक गरेर लगिने सामग्रीमा चामल १९ हजार किलो, दाल ९५ किलो, पाँच सय लिटर तेल र ५ सय किलो नुन पठाएको प्रदेश सरकारका प्रवक्ता आन्तरिम ममिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिनुभयो । सबै सामग्री आजै लिम्चुङबुङ र ताप्लीमा पठाइँदैछ ।