गुल्मी, साउन ९ ।
गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो ।
३ जनाको हिजो साँझ र एक जनाको आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडांै ल्याईएको छ । उनीहरुको टाउकोमा चोट लागेकाले थप उपचारको लागि काठमाडौं ल्याउनु परेको उपचारमा खटिएकी डाक्टर शिला ढकालले बताउनु भयो ।
पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ । प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण हेलिकोप्टरमार्फत राहत सामग्री र्पुयाइएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन् ।
यसैबीच, लमजुङको दोर्दीखोलामा हिजो दिउँसो आएको बाढीले बगाएर मृत्यु भएका चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ५० बर्षिय भुवनेश्वर चौधरी, डढेल्धुराको आलेताल नपा–६ का ५० बर्षिय रमेश बुढा, बाराको जितपुर उपमहानगरपालिकाका ३५ बर्षिय शिवलाल चौधरी र ३५ बर्षिय साहित अन्सारी रहेका छन् ।
उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम गरिएको छ । दोर्दी गाउँपालिकाको वडा नं. ४ शेरापुल नजिकै दुईजना र वडा नं. ६ को किर्तीपुरबेसीमा २ जनाको शव फेला परेको थियो । प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार अझै ६ जना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा सप्तरीका सुरेन्द्र चौधरी, कञ्चनपुरका देवबहादुर कोली, डडेल्धुराका कर्ण बुढा, भोजपुरका दिवस कटुवाल, बाराका ज्ञानेन्द्र चौधरी र लमजुङ दोर्दी–६ का विनोद तामाङ छन् । बेपत्ताको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी थालेका छन् ।
मृत्यु र बेपत्ता हुने सबै निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार हुन् । उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।