काठमाडौं, साउन ८ ।
सिंगापुरमा जारी आइसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले आज विहान भएको खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
पारस खड्काको अनुपस्थितिमा कप्तान बनेका ज्ञानेन्द्र मल्लले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाएपछि जितको बलियो जग निर्माण भएको थियो ।
ज्ञानेन्द्रले २० बलमा अर्धशतक प्रहार गर्दै पहिलो कीर्तिमान बनाए। उनी टी–२० अन्तराष्ट्रिय खेलमा नेपालका लागि छिटो अर्धशतक बनाउने खेलाडी बने । ५१ रनमा आउट भएका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे । नेपालले ८ ओभरमा ३ विकेटको क्षतिमा ८६ रन बनाएर छनोटमा पहिलो जित हासिल गरेको हो ।
यसअघि मलेसियाले पहिले ब्याटिङ गर्दै नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । वर्षाका कारण प्रभावित नेपाल र मलेसियाबीचको खेल ९÷९ ओभरमा छोट्याइएको थियो । हिजो कतारसँग ४ विकेटले पराजित भएको नेपाललाई यो खेल जित्न निकै दबाब छ ।
नेपालका लागि सोमपाल कामीले २ ओभर गरेर ३ विकेट लिन सफल भएपनि उनी निकै महंगा सावित भएका थिए । यस्तै बसन्त रेग्मीले पनि १ ओभर बलिङ गरेर २ विकेट लिएका थिए । नेपालका कुनै पनि बलरले कशिलो बलिङ भने गर्न सकेका थिएनन् ।