काठमाडौं, ८ साउन ।
वर्षापछि आएको बाढी पहिरोका कारण जनधानको क्षती भएपछि सहयोग स्वरुप दुइटा संस्थाले प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषलाई २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले १० लाख र व्यापारिक समूह केडिया ग्रुपले १५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।
राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद दिनुभयो ।
राहत रकम बुझाउन गएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अब सिर्जना र योगदानको समय आएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासका निम्ति प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । सरकारको यस अभियानलाई साथ दिन कर्मचरीहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गर्नुभएको छ ।
सरकारका हात खुट्टा भनेका कर्मचारी भएको भन्दै प्रधानमन्त्री ओलीले कर्मचारीहरु सेवामुखी भए मात्रै जनतामा सरकारप्रतिको सकारात्मक सन्देश जाने धारणा राख्नुभयो ।