४ साउन, रौतहट । रोतहटमा दुई बालिकाको बाढीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
देवाही गोनाही नगरपालिका ५ को लालबकैया नदी भन्दा उतर पूर्वमा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारी रहेका छन् । बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण खाल्डोमा जमेको पानीमा नुहाउन पस्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताउनु भयो ।
यसैबीच पहिरोका कारण अबरुद्ध मेची राजमार्ग अन्तर्गतको राँके—फिदिम सडकखण्ड सञ्चालनमा आउन अझै तीन दिन लाग्ने भएको छ ।
राजमार्ग अन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३, पांग्रेभीरमा गत बुधबार गएको पहिरो अहिले सम्म पनि नरोकिएका कारण सडक खण्ड सञ्चालनमा आउन समय लाग्ने भएको हो ।
पहिरोका कारण पूर्वी पहाडी जिल्लासँगको यातायात सम्पर्क चार दिनदेखि टुटेको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।
प्रदेश १ सरकारका आर्थिक मार्मिला तथा योजना मन्त्री इन्द्र आङ्बोले पांग्रेभीरमा पहिरो जाने क्रम नरोकिएकाले वैकल्पिक मार्गमाफर्त सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।