नेपालगन्ज ३१ असार ।
डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा पहिरो पीडितलाई राहत बाँड्न एक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दबहादुर बुढा, सांसद बीरबहादुर शाही, बदनी बोहरा, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायसहितको टोली त्यसतर्फ गएको हो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत राहत वितरणका लागि त्यसतर्फ गएको मन्त्रालयका अधिकृत रोकायले जानकारी दिनुभएको छ । तीन दिनअघि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो । ९ जना बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ ।
पहिरो प्रभावित परिवारलाई राहत स्वरुप ७ सय ५० किलो चामल, ३ सय किलो दाल, ३० किलो नुन, ३० किलो चिनी, साबुन ६० चक्की, चिउरा १ सय ५० किलो, तेल ६० लिटर, चियापत्ती ३० प्याकेट, बाल्टी ३० थान, जग ३० थान, पाल १५ वटा, पाईप ५ सय मिटर, रेडक्रसको भाँडा सेट ६ सेट लगायत वितरण गरिने रोकायले बताउनु भयो ।