काठमाडौं असार ३१ ।
मुलुकका सबै भू–भाग बाट आकाश सफा रहे आज अबेर राति खण्डग्रास चन्द्र ग्रहण देख्न सकिनेछ । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ । जब चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिन्छ तब ग्रहण लाग्छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटिका अनुसार आज राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेट मा अत्यधिक ढाक्ने छ ।
यस्तै बिहान ४ बजेर ४४ मिनेटदेखि चन्द्रमालाई सघन छायाले ढाक्न छोड्छ भने बिहान ६ बजेर २ मिनेटदेखि विरल छायाले ढाक्न छोड्छ । तर नेपालमा चन्द्र अस्त बिहान ५ बजेर २५ मिनेटमा हुने भएकोले यो नदेखिने खगोलविद्हरु बताउँछन् ।
चन्द्र ग्रहण हेर्ने चाहनेले राति १ बजेर ४६ मिनेट देखि ४ बजेर ४४ मिनेट सम्म चन्द्रमाको केही भाग रातो र तामा रंगको देख्न सक्ने खगोलविद्हरु बताउँछन् । पुर्णिमाको राति मात्र हुने चन्द्र ग्रहण पूर्ण र आंशिक गरी दुई प्रकारको हुन्छ ।
सामान्य रूपमा भन्ने हो भने चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा आंशिक चन्द्र ग्रहण देखिन्छ । जब यो छायाको मध्यमा आउँछ अनि पूर्ण ग्रहण लाग्छ ।