बुटवल असार २९ ।
बुटवल उपमहानगरपालिकाले आधारभूत तहदेखि कक्षा ८ सम्म पठन–पाठन हुने गरी १ सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार पारेको छ । बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, समाजिक र विविध विषयहरु समेटेर बुटवलको चिनारी गराउने उद्देश्यले अलग्गै स्थानीय पाठ्यक्रम तयार पारिएको छ ।
सो पाठ्यक्रम र नगर शिक्षा योजना नमुना भएको आज आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शैक्षिक विकासका लागि नयाँ नीति र नयाँ योजनाको खाँचो रहेको बताउनुभयो ।
तीनै तहको सहकार्यमा अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । नमुना कार्यक्रमले प्रदेशका सबै स्थानीय तहका लागि उपयोगी दस्तावेजको काम गर्ने बताउँदै मन्त्री बरालले बुटवलले अगाडि सारेका शैक्षिक विकासका योजनाहरुलाई साकार पार्न प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
यो कार्यक्रमले बुटवलले अगाडि सारेका शैक्षिक विकासका योजनाहरुलाई साकार पार्न विशेष मद्दत पुग्ने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।