काठमाडौं, असार २७ ।
भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी जाँच गरेर मात्रै गाडी भन्सार पास गर्न सुरु गरिएको छ । रुपन्देहीको बेलहिया नाकाबाट आयात गरिने तरकारी तथा फलफूलको बुटवल थोक हाटबजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा विषादी जाँच गर्न सुरु गरिएको हो ।
वाणिज्य तथा आपूर्ति विभागले असार २ गते तरकारी तथा फलफूल आयात गर्दा भन्सार विन्दुमै विषादी चेकजाँच गरेर मात्रै पैठारी गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । तर, तीन हप्ता नवित्दै सरकार निर्णयबाट पछि हटेको थियो ।
विषादी जाँच्ने निर्णयबाट पछि हटेर सरकारले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै सर्वोच्च अदालतमा सरकार विरुद्ध रिट परेको थियो । सरकारी निर्णय पछि विषादी जाँच विनै बेलहिया नाकाबाट धमाधम तरकारी तथा फलफूल बोकेका गाडी नेपाल भित्रिएका थिए ।
सर्वोच्चले बुधबार सरकारका नाममा आदेश दिँदै भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी जाँच गर्न भनेको थियो । त्यसको भोलिपल्ट बिहीबारबाटै बेलहियाबाट आयात गरिने यी वस्तुको विषादी परीक्षण सुरु गरिएको क्वारेन्टाइन कार्यालय बेलहियाका प्रमुख विष्णु प्रसाद काफ्लेले जानकारी दिनुभयो ।