काठमाडौं असार २० ।
नेपाल समूह विजेता बन्दै मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।
सिंगापुर पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो । सिंगापुरका लागि हरी कुकरेजाले सर्वा्धिक ३० रन जोडे ।
सिंगापुरलाई सस्तैमा समेट्न कुशल मल्लले ४ विकेट लिए । यस्तै तिलक राज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले समान १र१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनायो । नेपालको फराकिलो स्कोरमा रित गौतमले शतकीय इनिङ्स खेले ।
अविजित रहेका रितले ११५ रन बनाए । प्रतियोगिताको यो पहिलो शतक हो । खडक बोहोराले ९० रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै समूह ’ए’ को नेपालले २ खेलबाट ४ अंक जोड्यो । पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।
यस्तै सिंगापुरले २ खेलबाट २ अंक जोड्यो । दुवै खेल गुमाएको चीन अंकविहीन बन्दै घर फर्किएको छ । अब नेपालले समूह ’बी’ को उपविजेता र सिंगापुरले विजेतासँग खेल्नेछ ।