काठमाडौं, असार १९ ।
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा संलग्नलाई प्रहरीले अझै पत्ता लगाउन नसकेको अवस्थामा सत्तारुढ दलकै सांसदले उक्त घटना एउटा ‘अपवाद’ रहेको बताएका छन् ।
राष्ट्रिय सभाको आज बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक एवं सांसद खिमलाल भट्टराईले निर्मला पन्तको नाम नलिइकन ‘कञ्चनपुर घटना’का रुपमा उक्त घटनालाई ‘अपवाद’का रुपमा प्रस्तुत गर्नुभयो । उहाँले देशमा शान्ति सुरक्षाको अवस्था सरकारले मजबुत तुल्याएको दावी गर्दै कञ्चनपुर घटना ‘अपवाद’का रुपमा रहेको बताउनु भएको हो ।
उहाँले त्यस्तो कारण के हो भन्नेबारे केही खुलाउनु भएन। सरकार भ्रष्टाचार अन्त्य गर्न केन्द्रीत रहेको दावी गर्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी, विशिष्ट व्यक्तिहरु राजीनामा बोकेर भाग्नु परेको अवस्था आएको बताउनुभयो । विवादित फैसलामा मुछिएका न्यायाधीशहरु बर्खास्त भएका उदाहरण पनि उहाँले दिनुभयो ।