काठमाडौं असार १७ ।
मलेसियामा आजबाट सुरु भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा घरेलु टोली मलेसिया र सिंगापुरले विजयी सुरुवात गरेको छ । किन्नरा ओभलमा भएको खेलमा मलेसियाले थाइल्याण्डलाई १६ रनले पराजित गरेको हो।
जितपछि मलेसियाले समूह बी मा २ अंक जोडेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३०.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाएको थियो । ९५ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड २६.४ ओभरमा ७८ रनमै अलआउट भयो ।
यस्तै टीपीसीए ओभलमा भएको खेलमा सिंगापुरले चीनलाई ८ विकेटले पारजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीन २३ ओभर खेल्दै २८ रनमै अलआउट भयो । २९ रनको लक्ष्य सिंगापुरले ६.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।
जितपछि नेपाल रहेको समूह ए मा सिंगापुरले २ अंक जोडेको छ । नेपालले भने पहिलो खेल भोली चीनसंग खेल्नेछ । किन्नरा ओभलमा हुने उक्त खेल नेपालले जितेमा नेपाल र सिंगापुरबीचको खेल हुनुअघि नै चीन बाहिनेछ र नेपाल र सिंगापुर सेमिफाइनल पुग्नेछ ।