काठमाडौँ १५ असार ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय काठमाडौंमा कार्यरत नायव सुब्बा ललितकुमार झाका दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नासु झा र उनकी श्रीमती सुचितादेवी झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
झा सरकारी सेवामा प्रवेश गरेपछिको १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ स्रोत नखुलेको पाइएपछि आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ । झाविरुद्ध पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको आयोगमा उजुरी परेको थियो ।
२०४० साल ३ महिना १७ देखि मुखिया पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका नासु झाले तलब¸ भत्ता¸ कर्जा¸ शेयर बिक्री¸ जग्गा बिक्री लगायतबाट २ करोड २८ लाख ६४ हजार २०८ आय आर्जन गरेका छन् ।
तर, झाको श्रीमती सुचितादेवी समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्ति मौज्दात लगायतमा ३ करोड ८५ लाख ४३ हजार २ सय ३४ खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट पत्ता लगाएको छ ।
झाको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएकोले उनीविरुद्ध १ करोड ५६ लाख ७९ हजार २६ बिगो कायम गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । नासु झा हाल इलाका प्रशासन कार्यालय बर्दिवास महोत्तरीमा कार्यरत छन् ।