काठमाडौं, असार ६ ।
भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको बताउनु भएको छ ।
प्रतिनिधिसभामा आज सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले हिजो मन्त्रिपरिषदले निर्णय गरेर फिर्ता लिने प्रक्रिया सुरु गरिसकेको बताउनुभयो ।
गुठी जग्गाका किसानको हक स्थापित गर्ने र धार्मिक मूल्य, मान्यता र परम्परा कायम राख्ने, यसमा देखिएका विसंगति अन्त्य गर्ने गरी सरकार अघि बढे पनि अहिलेका लागि उक्त प्रक्रिया स्थगित गर्नुपर्ने अवस्था आएको मन्त्री अर्यालले बताउनुभयो ।
यस्तै समाजवादी पार्टी नेपालको अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह गर्नु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएको डा भट्टराईले आज संसदमा बोल्दै माइतीघर मण्डलाको प्रदर्शनको संकेत बुझेर मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु खारेज गर्न आग्रह गर्नुभएको हो । यो विधेयक संविधान विपरित भएको उहाँको दाबी छ ।