रसुवा, ६ असार ।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका १७ जना कामदारहरुको सकुशल उद्धार गरिएको छ ।सुख्खा पहिरो जाँदा बिहिवार साँझदेखि सुरुङभित्र थुनिएका उनीहरुको आज बिहान उद्धार गरि बाहिर निकालिएको हो ।
सुरुङभित्र रहेका १७ जना कामदारलाई बिहान सकुशल बाहिर निकालिएको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले जानकारी दिनुभयो ।
रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ११ नेपाली र ६ चिनियाँ नागरिक गरी १७ कामदार सुरुङभित्र फसेका थिए ।
उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल खटेका थिए । पहिरोमा परेर एक जना घाईते भएका छन् ।
सुरुङको मुख बन्द नभए पनि विद्युत् अवरुद्ध भएको र बाटोमा पहिरो गएका कारण कामदारलाई राति बाहिर नआउन आग्रह गरिएको थियो । पहिरोबाट मानवीय क्षति भने नभएको आयोजना प्रमुख छवि गैरेले बताउनुभयो।
भित्र थुनिएका कामदारसँग वाकी–टकीमा सम्पर्क भइरहेको थियो ।