काठमाडौं असार ५ ।
राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विदुर नगरपालिकाले विजयी सुरुवात गरेको छ । हलचोकस्थित एपीएफको मैदानमा आज पनौती नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै विदुरले विजयी सुरुवात गरेको हो ।
विदुरको जितमा अनु लामाले ह्याट्रिक गरिन् । यस्तै रन्जित राई र रन्जना दर्जीले एक एक गोल गरिन् । विदुरले एक गोल आत्मघाती उपहार पाएको थियो । पनौतीका अप्सरा परियारले आत्मघाती गोल गरिन् ।
जितसंगै समूह ‘डी’ बाट विदुरले पहिलो खेलबाट ३ अंक जोडेको छ । पनौतीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यसअघि आजै भएको अर्काै खेलमा विरेन्द्रनगर नगरपालिका र कावासोती नगरपालिकाले बराबरी खेल्दै अंक बाडेका छन् । विरेन्द्रनगर र कावासोतीले २–२ गोलको बराबरी खेलेका हुन् ।
यो बराबरीसंगै समूह ‘बी’ बाट विरेन्द्रनगरले २ खेलबाट ४ अंक जोडेको छ । यस समूहमा एक खेलेको चौदण्डी गढीको ३ र कावासोती नगरपालिकाको १ अंक रहेको छ ।