काठमाडौँ , ५ असार ।
नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले भोलि आम शैक्षिक हड्ताल आव्हान गरेको छ ।
संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैह्रन्यायीक गिरफ्तारीको बिरोधमा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको हो ।
विज्ञप्ति मार्फत वर्तमान केपी ओली नेतृत्वको सरकारले संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतांकका श्रृखंलाहरु नै चलाएपछि विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा भोली एक दिने शैक्षीक हड्तालको आह्वान गरिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालले बन्द आह्वान गरिएका जिल्लामा रहेका सबै शैक्षीक संस्थाहरुलाई एक दिन बन्द गरेर सहयोग गरिदिन समेत अपिल गरेका छन् ।
आफ्नो जनविरोधी र कुरुप चरित्र ढाकछोप गर्न सरकारले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कत पद्रर्शन गरिरहेको भन्दै अध्यक्ष ढकालले जस्तोसुकै दमन गरेपनि नझुक्ने दृणता व्यक्त गरे।

देशैभरिबाट अखिल (क्रान्तिकारी)मा आवद्ध दर्जनौं नेता कार्यकर्तालाई राजनैतिक आस्थाको आधारमा गैह्रन्यायीक रुपमा गिरफ्तार गरी झुठा मुद्दाहरुमा फँसाई हिरासत र जेलमा अमानविय तरिकाले राखिएको भन्दै ढकालले भत्र्सना र निन्दा समेत गरेका छन् ।
घोषित कार्यक्रम अन्तरगत अखिल (क्रान्तिकारी) संगठनले आज देशव्यापी मसाल जुलुस निकाल्दै छ । यसअघि हिजो देशव्यापी क्याम्पस अगाडि १ घण्टा चक्काजाम गरेको थियो ।यसैक्रममा अखिल(क्रान्तिकारी ) क्याम्पस जिल्लाले काठमाडौको त्रिचन्द्र क्याम्पस, एन सि सि ,पसुपती , आर आर र तहाचल लगाएत क्याम्पसमा बिरोध स्वरुप व्यानर टागेर बिरोध जनाएका छन् ।