काठमाडौं, २७ जेठ ।
नेपाल–भारतबीचको रेल सेवा सम्झौता ५ वर्षका लागि नवीरकरण भएको छ । भारतमा जेठ २३ र २४ गते भएको दुई दशेबीचको वार्तामा भारतसँग रेल सेवाबारे दर्जनभन्दा बढी सहमति भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको ११ सदस्यीय टोली वार्ताका लागि भारत गएको थियो । भारतबाट टोली फर्किएपछि आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।
नयाँ सहमति अनुसार भारतले नेपाली रेललाई कोलकात्ता र हल्दियादेखि वीरगञ्ज, विराटनगरसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन सैद्दान्तिक सहमति जनाएको छ । अब नेपालकै रेल कोलकत्तासम्म जान बाटो खुलेको छ ।
भारतले नेपाललाई पहुँच दिन लागेका नयाँ धामरा र मुन्द्रा पोर्टसम्मको रेल सेवालाई पनि सम्झौतामा समेट्ने विषयमा सहमति भएको छ । यस्तै रक्सौलको सुख्खा बन्दरगहासम्म विद्युतीय रेल्वे लाइन विस्तारमा पनि भारत सहमत भएको छ ।
विराटनगर र भैरहवा नाबाट समेत बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने र विरानटनर–जोगबनी, भैरहवा–नौतनुवा, कुर्ता–जयनगर रुटमा रेल सेवा सुरु भएपछि कार्गो ढुवानी गर्न दिन पनि भारत सहमत भएको छ ।
भारतले पारवाहन सम्झौतमा व्यवस्था गरिए आफ्ना सुख्खा बन्दरगाह र नेपाली सुख्खा बन्दरगाहबीच तेस्रो मुलुकसँग हुने ब्यापारका लागि कार्गो रेल सेवा सुरु गर्न सकिने पनि बताएको छ ।