निर्मला तिम्सिना/काठमाडौं, २५ जेठ । मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मीहरूले शनिवार काठमाडाैंसहित देशभर हातेसाङ्लो प्रदर्शन गरेका छन्। काठमाडौंस्थित बबरमहलमा शनिबार दिउँसो विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीले विधेयकविरुद्ध प्रदर्शन गरे ।
प्रदर्शनमा उत्रिएका सञ्चारकर्मीहरूले ‘पूर्ण प्रेस स्वतन्त्रताकाे ग्यारेन्टी गर’ ‘मिडिया काउन्सिल विधेयक खारेज गर’ ‘संविधानको प्रस्तावनाको सम्मान गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
आँखामा कालो पट्टी बाँधेका पत्रकारहरुले स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए ।कार्यक्रममा पत्रकार महासंघका पुर्व पदाधिकारी, विभिन्न संचारगृहका सम्पादक, पत्रकारहरुको उल्लेख्य सहभागिता थियो । मानवसाङ्लो बनाउनुअघि भएको कोणसभामा पत्रकार महासंघका पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।
पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारहरुलाई सम्बोधन गर्दै पत्रकार महासंघले एक महिनादेखि गरेको आन्दोलन सरकारले सुनुवाई नगरेको भन्दै छिट्टै अर्को चरणको आन्दोलन गर्ने जानकारी दिए ।पत्रकार महासंघको आन्दोलनलाई राजनीतिकरण नगर्न अाग्रह गर्दै उनले यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा भएको आन्दोलनका रुपमा लिनुपर्ने बताए ।
यस्तै महासंघका उपाध्यक्ष दिलिप थापामगरले शान्तिपूर्ण आन्दोलनलाई सरकारले व्यवस्था गरे निरन्तर आन्दोलनमा लडिरहने उल्लेख गर्दै छिट्टै तेश्रो चरणको आन्दोलन गर्ने बताए ।
पत्रकार महासंघका पुर्वअध्यक्ष सुरेश आचार्यले पत्रकार महासंघ वार्ताका लागि तयार रहँदा पनि सरकारले वेवास्ता गरेको भन्दै आवश्यक परे अन्तराष्ट्रिय मिडिया मिसनलाइ नेपाल बोलाइने बताए ।




तस्बिरः पत्रकार प्रणव खत्री, अन्नपूर्ण