काठमाडौं, २५ जेठ । यस बर्ष दुई हजार ४४९ व्यापारी कारवाहीमा परेकाे नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले जनाएकाे छ । कार्यालयले चालू आर्थिक वर्षमा नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराउने ४४९ जना व्यापारीलाई कारवाही गरेको हो ।
तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले जानकारी दिए । नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरेकाे उनले बताए ।
चालू आवमा एक हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ । तीन हजार ७३४ व्यापारीले नाप्ने तथा तौलने यन्त्र, ४६२ पटक पेट्रोलियम पदार्थ वितरण गर्ने पेट्रोल पम्प र ३० पटक पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई जाँच गरेको कार्यालयले जनाएको छ । कार्यालयले चालू आवमा नापतौल यन्त्र दर्ता, नवीकरण तथा पेट्रोलपम्प जाँचबाट ९२ लाख ७१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ ।