काठमाडौं, २१ जेठ ।
अखिल (क्रान्तिकारी)को नारायणी क्षेत्रीय समन्वय समितिले बिभिन्न समयमा गिरफ्तार परेका आफ्ना ६ जना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठनका अखिल (क्रान्तिकारी)को नारायणी क्षेत्रीय समन्वय समितिका संयोजक मदन केसीले मङ्गलबार विज्ञप्ति जारी गरी गिरफ्तार सबैको रिहाईको माग गरेका हुन् ।
अखिल (क्रान्तिकारी) का नारायणी क्षेत्रीय समन्वय समितिका सदस्य निरजकुमार शाह, सन्तोष तिमिल्सिना, पर्सा जिल्ला अध्यक्ष राधेश्याम लगायत ६ जना लामो समयदेखि प्रहरी हिरासतमा रहेको भन्दै उनले सबै नेता–कार्यकर्तालाई तत्काल ससम्मान रिहा गर्न माग गरेका छन् ।
शाह र तिमिल्सिना लाई प्रहरीले गत जेठ १९ गते र राधेश्यामलगायत चारजनालाई पनि २०७५ फागुन ११ गते प्रहरीले गिरफ्तार गरेको बिज्ञप्तिमा उल्लेख छ ।
संयोजक केसीले युवा, विद्यार्थी, मजदुर, बुद्धिजीवी, मानवअधिकारवादी, पत्रकारलगायतलाई गिरफ्तार भएका सङ्गठनका नेता–कार्यकर्ताहरूको रिहाइको लागि पहल गरिदिन पनि आग्रह गेका छन् ।
रिहा नगरिएमा सरकारी धरपकडविरुद्ध प्रतिरोधस्वरूप कडा सङ्घर्ष गर्न बाध्य हुने चेतावनीसहित उक्तm सङ्घर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने विज्ञप्तिमा उल्लेख छ ।