धनगढी, जेठ १९।
शनिवारदेखि कैलालीको अत्तरीयामा सुरु भएको गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको दोस्रो दिन धनगढीको फारवेष्ट पशुपति युवा क्लब विजयी भएको छ । तेघरी स्थित वनदेवी युवा क्लबको मैदानमा भईरहेको प्रतियोगिताको दोस्रो दिनको खेलमा फारवेष्ट पशुपति युवा क्लबले अत्तरियाको माउण्ट एभरेष्ट युवा क्लबलाई २–० ले हराएको हो । फारवेष्टको जितमा रोशन खत्री र भिष्म भाटले एक एक गरे । खत्रीले पहिलो हाफको ११ औं मिनेटमा गोल गरे भने भिष्म भाटले दोस्रो हाफको ८२ औं मिनेटमा गोल गरे । यो जितसँगै फारवेष्ट पशुपति युवा क्लब क्वाटरफाईनल प्रवेश गरेको छ । सेमिफाईनल प्रवेशका लागि पहिलो चरणमा वाई पाएको वनदेवी युवा क्लबसँग फारवेष्टले प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत सोमबार सुदुरपश्चिम–११ स्पोर्टस क्लब र मनकामना युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।