काठमाडौं, १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट आज सार्वजनिक गर्दैछ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको अपरान्ह ४ बजे बस्ने संघिय संसदको बैठकमा १६ खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्न लाग्नुभएको हो ।
अर्थमन्त्री खतिवडाले यस पटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने तयारी गरेको बताइएको छ । अघिल्लो वर्ष सार्वजनिक गरिएको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारुढ दलकै सांसदले नै असन्तुष्टि जनाएपछि अर्थमन्त्री डा. खतिवडाले वाम गठबन्धनको घोषणापत्रको वरिपरि रहने गरी बजेट सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारी तलव वृद्धि हुने बताइएको छ । केही उत्पादनलाई अनुदान, युवाका नाममा राजनीतिक कार्यक्रम, कृषि तथा स्वदेशी उद्योग भन्दै अनुदानलगायतका वितरणमुखी कार्यक्रम बजेटमा घोषणा हुने बताइएको छ ।
अर्थमन्त्रालय स्रोतले बजेटको आकार १६ खर्ब हाराहारी हुने जनाएको छ । यो बजेटका लागि १० खर्ब राजस्व उठाउने लक्ष्य राखिँदै छ । बाँकी रकम वैदेशिक सहायता तथा ऋण, आन्तरिक ऋण र यस वर्ष खर्च नभएर बसेको रकमबाट जुटाउने घोषणा अर्थमन्त्रीले गर्ने तयारी गरेका छन् ।
राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सुरुमा १४ खर्ब ९३ अर्ब रुपैयाँभित्र रही बजेट ल्याउन संोतको सीमा तोकेको थियो । तर, बजेट सार्वजनिक गर्नु एक दिनअघि हिजो बसेको बैठकले १५ खर्ब ७७ अर्ब रुपैयाँसम्मको बजेट ल्याउन पाउने निर्णय भएको बताइएको छ ।
बजेटमा कर्मचारीको तलबभक्ता १० देखि २५ प्रतिशतसम्म बृद्धि हुने छ । गत वर्ष स्वास्थ्य क्षेत्रमा ५६ करोडरूपैयाँ विनियोजन गरिएकोमा अहिले बढाएर स्वास्थ विमा बापत ठुलो रकम विनियोजन गरिने छ ।
सामाजिक सूरक्षा कार्यक्रम पूर्ण रुपले लागु गराउन थप बजेट विनियोजन हुँदै छ । करको दायरा थप बढ्ने छ । गत आवमा विनियोजित पुँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड बाट बढाएर यसपाली ५ खर्ब पु¥याइने छ ।
आगामी बजेटमा हाल खाइपाइ आएको बृद्ध भक्ता प्रति महिना २ बाट बढाएर ३ हजारसम्म पु¥याइने छ । यसबाहेक अतिरिक्त रेल, पानीजहाज, ठूला सुरुङ मार्ग, विमानस्थल, विद्युत प्रशारणलाइन लगायत अन्य पूर्वाधार आयोजनाकालागि पनि गत वर्षको भन्दा केही बढी बजेट विनियोजन गरिने छ ।
यसैगरि, कर्मचारीको तलब नबढेको तीन बर्ष भएकाले आगामी आवको बजेटमा निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षक लगायतको तलव सुविधा १० देखि २५ प्रतिशतसम्म बढाइने छ ।