काठमाडौं, १४ जेठ ।
यही जेठ १० गते तीन विद्यार्थी संगठनहरुले आयोजना गरेको कर छली गर्दै आएको एनसेल र बालुवाटारको सरकारी जग्गा हडप्ने भूमाफिया विरुद्धको विरोध सभास्थलबाट गिरफ्तार गरिएको अखिल (क्रान्तिकारी)का चार नेताको रिहाईको माग गर्दै आज मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
सुरेश लुहारले दायर गरेको रिटमा भीमदत्त नगरपालिका–१५, कञ्चनपुरका निवासी अखिल अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विरेन्द्र लुहार, महावु गाउँपालिका–३, दैलेख निवासी अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला उपाध्यक्ष रमेश सुनार, लम्कीचुहा गाउँपालिका–२, कैलाली निवासी तारा सन्ज्याल र फाल्गुनन्द गाउँपालिका–४, पाँचथर घर भएका अखिल (क्रान्तिकारी)कै क्याम्पस जिल्ला सदस्य बुद्धहाङ नेम्वाङाई प्रहरीले बिनाकारण गिरफ्तार गरी गैरकानूनी रुपमा हिरासतमा थुनामा राखेको भन्दै रिहा गर्नुपर्ने माग गरिएको छ ।
चारै जनामाथि प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लगाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी महानगरीय प्रहरी परिसरको काठमाडौंको दरबारमार्ग वृत्तमा राखिएको छ । उक्त दिन ने.क.पा.निकट अखिल (क्रान्तिकारी), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनले संयुक्त रुपमा विरोध र्याली र सभा आयोजना गरेको थियो ।
ने.क.पा. र निकट भातृ संगठनहरुका नेता कार्यकर्तालाई सरकारले निरन्तर रुपमा निगरानी र धरपकड श्रृंखलालाई जारी राखेको छ । जसको सबैतिरबाट विरोध पनि जारी छ ।