काठमाडौं, १३ जेठ ।
पृथ्वी राजमार्गमा अन्तर्गत धादिङको महादेवबेंशी पुलमा बम फेला परेको छ ।
आइतबार राति साढे १ बजेतिर सकेट बम फेला परेको प्रहरीले जनाएको छ । उक्त सकेट बम नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्कृय पारेको छ ।
बम निष्कृय पार्न गजुरीबाट नेपाली सेनाको टोलीलाई प्रहरीले खबर गरेको थियो ।
त्यसैगरी धादिङकै नौबिसेमा पनि बम भेटिएको छ । स्थानीयले शंकास्पद बस्तु भेटिएको खबर प्रहरीलाई गरेका थिए । नेपाली सेनाले उक्त बमलाई पनि निष्कृय पारेको बताइएको छ । बम फेला परेपछि स्थानीहरु भने त्रसित बनेका छन् ।
बम कसले र किन राख्यो भन्ने खुलेको छैन । उता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण धादिङ भएर पूर्व(पश्चिम चल्ने लामो दुरीका कुनै पनि सवारी साधन नचलेको बताइएको छ ।
एम्बुलेन्स तथा अस्पतालका सवारी साधान, पेट्रोलियम पदार्थ, दूधका गाडी फाट्टफुट्ट चलेपनि सार्वजनिक सवारी सधान चलेका छैनन् ।