काठमाडौं, २९ वैशाख । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई दर्जयानी चिह्न प्रदान गरिएको छ ।
अघिल्लो सातामात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजी बढुवामा सिफारिस भएका पोखरेललाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले फुली लगाइ दिएका हुन्।गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेकेा थियाे ।
डीआईजीमा बढुवा भएका पोखरेल एक्लो एसएसपी हुन्। उनका अन्य ब्याचीको भने बढुवा भएको छैन। डीआईजी सुशील भण्डारीको केही महिनाअघि दुर्घटनामा मृत्यु भएपछि डीआईजीको एक पद खाली थियो। उनलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम, २७ को उपनियम, ४ को प्रावधान अनुसार उक्त पदमा बढुवाका लागि सिफारिश गरिएको थियो ।