यलम्बरको खुर्पा

यलम्बरको खुर्पा

  • शनिबार, बैशाख २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

यो आरनजस्तै मस्तिष्कले
किन साँध लाइरहन्छ
विचारका मखमली धारहरूमा ?
र आफैंलाई रेटिरहेछु म !
ठुल्कान्छीको जून देखेर
किन टाकुरिरहन्छ
हिमचुलीजस्तै जवानीको भट्टी ?
र मैनबत्तीझैँ पग्लिरहेछु म !
…………………..

अँध्यारो खस्दै गएपछि
परमाणु बमजस्तै यो आवाज
किन बहुलाउँछ घरीघरी
र नजरबन्दमा थुनिरहन्छु म ?
ग्यास्टिकले थलिएका झुप्राहरूमा
फेरि,
किन ओर्लिन्छ भोको रात
र नाघेर जान्छ – रोटीका टुक्राहरू ?
…………………..

ठुल्कान्छी ! ओइ, ठुल्कान्छी !
मैले फाँडेको झोडामा
खै किन टुसाउँदैनन्
तिम्रो जोवनजस्तै मकैका बोटहरू ?
तिमीले गोडेको खोरियामा
खै किन उम्रिँदैन
हामीले छरेको सपनाको बीउ ?
र किन मुस्कुराउँदैन – डाँडाको चन्द्रमा ?
………………….

कसले डोर्याउँछ
यो पसिनाको नदीलाई
र खडेरी बग्छ – मनका कुलेसाहरूमा ?
कसले भुत्ल्याउँछ
यो वनको वसन्तलाई
र ओइलाएर झर्छन् – जीवनका फूलहरू ?
हउ, ठुल्कान्छी !
किन पो निदाई बस्छ यी पाठाहरू
नाकै गन्हाउने फोहोरी खोरमा ?
……………………

धनुषकाँडमा ताँदो खैँचेर
अब मु निस्किन्छु बाहिर
र सिकार खेली पठाम्छु – ती दुम्सीहरूको
जसले,
मेरो नीलम भत्काएका छन् !
यलम्बरको खुर्पा बोकेर
अब मु जान्छु दरबार
र केराको थम्का काटेझैँ काटी पठाम्छु
त्यो झण्डाको लिङ्गो
जसले मेरो स्वाभिमानको नुर गिराएको छ !

************
२०५१ वैशाख १४
प्रथा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी