ललितपुर, २२ वैशाख । पुर्वसभासद् गायत्री साह र उनका श्रीमान राजेश महतोलाई प्रहरीले आइतबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालबाट पक्राउ गरेको छ ।
फौजदारी अभियोगमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएकाे छ । प्रहरीले गायत्रीलाई सातदोबाटोमा राखेको छ भने राजेशलाई जावलाखेलमा राखिएको छ ।
वैशाख १३ गते मेडिसिटी अस्पतालले दिएको उजुरीका आधारमा साह दम्पत्ती पक्राउ परेको पहरीले जनाएकाे छ । अस्पताल परिसरबाटै उनीहरुलाई प्रहरीले घिसार्दै पक्राउ गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । मेडिसिटी अस्पतालले दिएको उजुरीमा आफ्नो सन्तान अस्पतालमै छोड्नु गैरकानुनी भएको उल्लेख गरिएको छ।
प्रहरीले उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १८१ को उपदफा (१) अनुसार कारबाही हुने बताएको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८४ (१) अनुसार उनीविरुद्ध मुद्दा चल्ने प्रहरीले बताएको छ। १८४ मा ‘आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने’ उल्लेख छ। गायत्री साहले मेडिसिटी अस्पतालमा गत वर्ष फागुन २८ गते बच्चा जन्माएकाे र अस्पतालले साेबेला दिएकाे रिपाेर्टमा उक्त बच्चाको स्वास्थ्य अवस्था ठिक रहेको जनाएपनि पछि अस्पतालले नै भारतमा पठाएको नमुना परीक्षणबाट शिशुमा डाउन सिन्ड्रोम रहेको खुलेको थियो।
त्यसपछि साह दम्पत्तिले डा. निरासिंह श्रेष्ठ र उनी कार्यरत मेडिसिटी अस्पतालको गम्भीर लापरबाहीको सिकार आफूहरु भएको भन्दै शिशुको डिस्चार्ज लेटर लिन अस्वीकार गर्दै अाएका थिए ।