धनगढी, वैशाख २१।
धनगढी उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत वडा नम्बर ५ ले फराकिलो जित हात पारेको छ । शनिवार भएको दोस्रो खेलमा वडा नम्बर १७ लाई ११–० को फराकिलो अन्तरले वडा नम्बर ५ ले हराएको हो । वडा नम्बर ५ को सानदार जितमा अरवीन चौधरी र सन्तोष चौधरीले ३/३ गोल गरे । त्यसैगरी सुसिल पाण्डेयले दुई सन्दिप कुवर र वुद्धिमान श्रेष्ठले एक एक गोल गरे ।
शनिवार भएको पहिलो खेलमा भने वडा नम्बर १९ ले पेनाल्टी मार्फत जित हात पारेको छ । निर्धारित समयसम्म वडा नम्बर ६ ले वरावरी खेलेपछि पेनाल्टी मार्फत खेलको निर्णय गरिएको थियो । पेनाल्टीमा वडा नम्बर १९ ले वडा नम्बर ६ लाई ४–२ ले किनारा लगाएको हो । यसअघि दुवै वडाले एक एकको वरावरी खेलेका थिए । वडा नम्बर ६ का नवीन चौधरीले गोल गरेका थिए भने वडा नम्बर १९ ले आत्मघाती गोल उपहार पाएको थियो ।
प्रतियोगिता अन्तर्गत आईतबार २ खेल हुनेछन् । पहिलो खेलमा वडा नम्बर ९ र वडा नम्बर १६ तथा दोस्रो खेलमा वडा नम्बर १४ र वडा नम्बर ३ प्रतिस्पर्धा गर्नेछन् । नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका १९ वटै वडाका टीमहरुले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उपविजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने छ । मेयर कप आयोजना गर्नका लागि धनगढी उपमहानगरपालिकाले झण्डै ९ लाख रकम बजेट समेत विनियोजन गरेको छ ।