काठमाडौं, १५ बैशाख ।
जनपत्रकार संगठन नेपालका काठमाडौं जिल्ला संयोजक पत्रकार जीतेन्द्र महर्जनलाई पाँच दिनको म्याद थपेर प्रहरीले दरबारमार्ग स्थित हिरासतमा राखेको छ । महर्जन नेपाल भाषाको पत्रिका न्हूगु ज्वजलपा साप्ताहिका प्रधानसम्पादक समेत हुनुहुन्छ ।
उनलाई गएको चैत्र २७ गते माइतघर मण्डलानजिकबाट गिरफ्तार गरी राजद्रोहको अभियोगमा थुनामा राखिएकोमा बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले यही बैशाख ८ गते रिहा गर्न आदेश दिएको थियो । आदेशपछि रिहा भएका पत्रकार महर्जनलाई अदालत गेटबाटै साँझपख दूरव्यवहार गर्दै गिरफ्तार गरेको हो ।

अहिले उनीमाथि पहिलेजस्तै राजद्रोहको अभियोग लगाइएको छ । समाचार संकलनकै क्रममा गिरप्mतार गरिएका पत्रकार महर्जन निर्दोष रहेको र सरकारले लगाएको अभियोग प्रेस स्वतन्त्रमाथिको ठाडो हस्तक्षेप रहेको भन्दै नेपाल पत्रकार महासंघ, नेवाः पत्रकार राष्ट्रिय दबू, जनपत्रकार संगठन नेपाललगायत दर्जनौं पेशागत संगठनहरु उनको रिहाईको माग गर्दै आन्दोलित छन् ।
उनीहरुले पत्रकार महर्जनमाथि लगाइएको झुठा अभियोग तत्काल फिर्ता गरी निसर्त रुपमा रिहा गर्न माग गरेका छन् । अन्यथा, सरकारको कदमविरुद्ध कडा संघर्ष घोषणा गर्न बाध्य हुने चेतवानी दिएका छन् । हालै मात्र नेवा पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिको आयोजनामा राजधानीमा विशाल विरोध प्रदर्शन भएको छ । पत्रकार महर्जन दबूका काठमाडौं जिल्ला सदस्य समेत हुन् ।
उनलाई सर्वोच्च गेटबाट रिहालगत्तै कमलपोखरी प्रहरी वृत्तले गिरफ्तार गरेको हो ।