काठमाडौं, १५ बैशाख ।
जनयुद्ध चलाइरहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव पूर्ण पौडेलकी आमा मोतिमायाले ने.क.पा.का महासचिव विप्लवलाई जनताले लिएको राजनीतिक उद्देश्य सफलताको लागि शुभकामना दिएकी छन् । प्रतिबन्ध छिचोल्दै ने.क.पा. कास्कीले आयोजना गरेको विद्यार्थी नेता पौडेलको सम्झना यही १३ गते भव्य कार्यक्रम आयोजना गरेको थियो ।
तत्कालीन शाही सेनाले पौडेललाई २०५९ बैशाख १३ गते साँझ काठमाडौको कालिमाटीबाट गिरफ्तारी बेपा बनाएकोमा हालसम्म पनि उनको अवस्था सार्वजानिक भएको छैन । कार्यक्रममा मोतिमायाले आफ्ना छोरालेजस्तै हजारौं नेपाली छोराछोरीले स्वाधीनता र पूर्णअधिकारको लागि जनयुद्धमा बलिदान दिएको बताउँदै प्रचण्ड–बाबुरामहरु जनतालाई धोका दिएर टाढा भागेको बताइन् । क्रान्तिकारी नेता र जनतामाथि उल्टै उनीहरुबाट खतरा रहेको बताइन् ।
कार्यक्रममा विप्लव नेतृत्वको ने.क.पा. शुरुमा एक्लो बिरुवाजस्तो रहेको तर अहिले सबैतिर जंगल बनिसकेको धरणा उनले राखिन् । प्रचण्ड–बादलहरु अहिले सरकारमा बसेर क्रान्ति र अधिकारको झण्डा उठाएर आन्दोलन गरिरहेका ने.क.पा.का नेता कार्यकर्तामाथि मनपरी दमन गरेर दुःख दिइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताइन् । आफूले विप्लव जंगल पसेको हल्ला सुनेपछि फोन गरेर क्रान्ति बिरुवाको रुपमा नरहेर त्यसलाई सबैले हुर्काउने र बढाउने गरेर अहिले गाउँसहर चारैतिर जंगल भइसकेको बताएको जानकारी कार्यक्रम उनलेदिइन् ।
‘तिमी एक्लै छैनौ, अहिले क्रान्तिकारीहरुको जंगल नै भइसकेको छ । बरु नडराउनू, खुट्टा नछाड्नू विप्लव बाबु भनेर भनेँ’ उनले कार्यक्रममा खुलस्त गरिन् । बेपत्ता छोराको सपना अब ने.क.पा.ले पूरा गर्ने विश्वास आफूमा पलाएको उनको भनाई थियो ।
कार्यक्रममा ने.क.पा. कास्कीका सेक्रेटरी आक्रोशले वर्तमान सरकार दलाल पूँजीवादीहरुको इसारामा चलेको र राष्ट्रिय स्वाधीनता तथा जनताको अधिकारको लागि शान्तिपूर्ण अधिकारको लागि चलाइरहेको आन्दोलनमाथि नांगो रुपमा दमन र झुठा मुद्दा थोपरिरहेको भन्दै आक्रोश पोखे ।
बेपत्ता, घाइते तथा अपांगता, सहिदहरुको अधुरो सपना र उद्देश्य पूरा गर्न ने.क.पा.ले एकीकृत जनक्रान्तिमार्फत क्रान्तिको झण्डा उठाएको उनले बताए । क्रान्तिको लक्ष्य र उद्देश्य पूरा नभएसम्म अन्तिम क्षणसम्म लडिरहने उनको भनाई थियो । अधिकार प्राप्तिकाको आन्दोलनमा सबैले भाग लिन पनि उनले अपिल गरे ।
तत्कालीन जनयुद्धका क्रममा बेपत्ता भएका ८ सय भन्दा बढी नागरिकको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । जसको लागि शान्तिप प्रक्रियापछि बनेका हरेक सरकार आलोचनाको केन्द्रमा पर्दै आएको छ ।