१४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटर, पसलमा डोजर चलाउने निर्णय गरेको छ ।खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि महानगरले पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ ।
महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनपछि उक्त पसल, सटरमा डोजर लागाइएको जानकारी दिए ।
महानगरपालिकाले डोजर चलाउने निर्णय गरेलगत्तै शनिबार दिउँसोदेखि महानगरीय प्रहरी पठाएर खुलामञ्चमा निर्माण गरिएका सटर भत्काएको सापकोटाले बताए ।
महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।
खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएको छ ।