रुपन्देही, ११ बैशाख ।
प्रहरीले गएको मध्यरातमा पाँच वर्षे बालकसहित गएराति १० गते ५ वर्षे छोरासहित नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) रुपन्देहीका जिल्ला सदस्य कल्पना सुवेदीलाई गिरफ्तार गरेको छ । नेतृ सुवेदी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य समेत रहेकी छन् ।
मध्यरात घरमा सुतिरहेको अवस्थामा प्रहरीले बिनाकारण झुठा अभियोगमा गिरफ्तार गरेको भन्दै ने.क.पा. रुपन्देहीले भत्र्सना गरेको छ । बुधबार दिउँसो ने.क.पा. रुपन्देहीका सेक्रेटरी अमर आर.सी.ले एक प्रेस विज्ञिप्त जारी गर्दै सरकारको नेतृत्व गरिरहेको केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई केपी–पिके गुटको संज्ञा दिँदै नेतृ सुवेदीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा घरलाई घेरा हाली क्रुर तरिकाले गिरफ्तार गरेको उल्लेख गर्दै गिरफ्तारीको भत्र्सना गरेका छन् । क्रुरता नरोकिए प्रतिवाद गर्ने ने.क.पा. रुपन्देहीले बताएको छ ।
विचार र आस्थाकै आधारमा बिनाकारण झुठा आरोपमा गिरफ्तार गरिएको भन्दै यसबाट सरकारका नेतृत्व क्रुर शासक भएको चरित्र उदंगो भएको र सरकार कथित कम्युनिस्ट नामधारी भएकैले नागरिकको मानवअधिकारको घोर उल्लंघन गरेको कुरा सेक्रेटरी आर.सी.ले जारीमार्फत प्रष्ट पारेका छन् ।
गिररफ्तार नेतृ सुवेदीलाई तत्काल रिहा गर्न सरकारसँग उनले जोडदार माग पनि गरेका छन् । रिहाई नगरिए पार्टी सरकार र त्यसबाट निर्देशित प्रशासनको विरोधमा कडा संघर्ष अगाडि सार्न बाध्य हुने चेतवानी विज्ञप्तिमार्फत दिइएको छ ।
सरकारले गत फागुन २८ गतेबाट लागू गरेको ने.क.पा.माथि प्रतिबन्धलाई ‘कथित’को संज्ञा दिँदै विज्ञप्तिमा सरकारबाट जारी राखेको मानवअधिकारको गम्भीर उल्लंघनका घटनाप्रति मानवअधिकारवादी, इन्सेक, अधिकारकर्मी, सरोकारवाला र संचारमाध्यमलाई विशेष निगरानी गर्न र सत्यतथ्य बाहिर ल्याउन समेत आग्रह गरिएको छ ।
यसअघिदेखि जिल्लाका थुप्रै जिल्ला पार्टीका नेता कार्यकर्ता बिनाकारण गिरफ्तार गरी झुठा मु्द्दामा फसाएर गैरन्यायिक रुपमा हिरासतमा राखेको भन्दै सम्पूर्ण बन्दीलाई निसर्त रिहाई गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।
पछिल्लो चरणमा सरकारले ने.क.पा.माथि धरपकड र दमन साथै अदालतको आदेशमा रिहा भएका ने.क.पा.का नेताकार्यलाई पटकपटक अदालत परिसरबाटै गिरफ्तार गर्ने र जिल्ला घुमाउने क्रमलाई तीव्रता दिँदै आएको छ । जसको चौतर्फी विरोध भइरहेको छ ।
यसैबीच ने.क.पा.का अहिलेसम्मकै उच्चस्तरका नेता पार्टीका स्थायी समिति समिति सदस्य एवं पार्टीको मध्यकमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्श’सहित ६ जनालाई पूर्पक्षका लागि भन्दै हिजै मात्र ललितपुर जिल्ला अदालतले नख्खु जेलमा राख्न आदेश दिएको छ ।