कोशकार एवं साहित्यकार वसन्तकुमार शर्म्मा नेपालको ९७ वर्षको उमेरमा निधन भएको छ ।वि.सं. १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मिएका साहित्यकार नेपाल दुई महिनादेखि निवासमै अचेत अवस्थामा थिए । उनकाे शनिबार उनकै निवास चाबहिल, मैंजुबहालमा निधन भएकाे हाे ।
पाँच महिनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महिनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोडेको उनका माहिला छोरा विनयकुमारले राससलाई जानकारी दिए । उनी मस्तिष्काघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए ।
उनको पार्थिव शरीरलाई शनिबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । नेपाली भाषामा सबैभन्दा धेरै शब्द संकलन गरिएको उनको ‘नेपाली शब्दसागर’ वि.सं. २०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए ।
वि.सं. २०७० मा ‘नेपाली शब्दसागर’को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पुर्याइएको थियो ।उनले महाभारतलाई गद्यमा चार खन्डमा अनुवाद गरेका थिए । यसैगरी, १३५ ओटा उपनिषद् पनि अनुवाद गरेका थिए ।
हालसम्म उनका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० ओटा पान्डुलिपी तयार छन् ।उनका श्रीमती, चार छोरा र तीन छोरी छन् ।