बन्दूक भन्नु
महत्वपूर्ण त हो
तर खास महत्वपूर्ण होइन
खास महत्वपूर्ण त मान्छे हो ।
कुन मान्छेले बोकेको छ बन्दुक
त्यो कुरा महत्वपूर्ण हो ।
शासकको मान्छेले बोकेको छ भने बन्दूक
जनतालाई खतरा छ
जनताको मान्छेले बोकेको छ भने त्यो
शासकलाई खतरा छ
बन्दूक एक साथ सुरक्षा पनि खतरा पनि हो ।
बन्दूक आफैले निशाना लगाउँदैन
बन्दूक आफै पड्कदैन
निशाना लगाउँने मानिस हुन्छ
र ट्रिगर पनि मान्छेले नै दवाउँछ !
हामी देख्छौं नि
सेना र प्रहरी हरेकका हातमा बन्दूक हुन्छन
ती कुनै पनि बन्दूक चरा मार्न होइनन
जङ्गली जनावर मार्न पनि होइनन
ती केवल मान्छे मार्न बोकिएका हुन !
हरेक शासकहरूले
बन्दूक बोक्ने अधिकार आफैसँग राख्छन
बन्दूक बोक्नु र मान्छे मार्नु
शासकहरूको खेतीपाती हो !
अहिलेसम्म यस्तो कहिलै भएन
शासकले बोकेको बन्दूकले
शासकलाई कहिलै मारेन
शासकको खलकलाई पनि मारेन
शासकका समर्थकहरू पनि मारेन !
खाली हात हुनेहरूले सोच्नु पर्छ
शासक केवल बन्दूकसँग डराउँछ
शासक डराउँने कुरा
औधी रमाइलो हुन्छ जनतालाई
जसरी जनता डराउँने कुरा
शासकहरूलाई खुव मन पर्छ !
झट्ट सुन्दा
बन्दूक बोक्ने कुरा रमाइलो हुन्न
तर अफसोच
बन्दूक बोक्न नरमाइलो मान्नेले
कहिलै रमाइलो मान्नै पाउँदैन ।
बन्दूकको खतराको सामना
केवल बन्दूकले मात्र गर्छ
यो धर्तीका बासिन्दाहरू
जो सरकारी बन्दूकबाट हैरान छन
र ,जो बन्दूकबाट मुक्ति चाहन्छन
ती सवैले जरुरी छ-
एक पटक बन्दूक बोक्न ।
त्यसो त यस्तो समय पनि आउँने छ
बन्दूकहरू प्रयोजन हीन हुने छन
किन कि
त्यो वेला कसैले मान्छे मार्नु पर्ने छैन !
२०७६|०१|०५
सुवर्ण चोक